विराटनगर महानगरपालिका–१६ मा एक पुरुष कोठाभित्र मृत फेला परेका छन्।
स्थानीय अमोद लामाको घरमा डेरा गरी बस्दै आएका ४८ वर्षीय बब्लु श्रेष्ठ शुक्रबार बिहान आफ्नै कोठाभित्र मृत भेटिएका हुन्। श्रेष्ठ बस्ने कोठाबाट दुर्गन्ध आइरहेको जानकारी स्थानीयले दिएपछि इलाका प्रहरी कार्यालय रानीबाट इन्स्पेक्टर प्रवीण घिमिरेको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
कोठाको ढोका भित्रबाट चुकुल लगाइएको अवस्थामा रहेपछि स्थानीय जनप्रतिनिधिको रोहबरमा ढोका खोलेर हेर्दा दुर्गन्धित अवस्थामा श्रेष्ठ फ्रिजमा टाँसिएर लडिरहेको अवस्थामा मृत फेला परेका हुन्। उनको मृत्यु दुई–तीन दिनअघि नै भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
घटनास्थलको प्रकृति हेर्दा फ्रिज खोल्ने क्रममा करेन्ट लागेर श्रेष्ठको मृत्यु भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ। फ्रिजमा टाँसिएर लडिरहेको अवस्थामा शव भेटिए पनि घटनाको वास्तविक कारण खुल्न बाँकी छ।
श्रेष्ठकी श्रीमती रोजगारीका सिलसिलामा दुबईमा रहेको र छोरा काठमाडौंमा बस्दै आएको खुलेको छ। घटनाको जानकारी पाएपछि उनका छोरा विराटनगर आउँदै गरेको जनाइएको छ।
प्रहरीले घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएर थप अनुसन्धान अघि बढाएको छ।












