नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा १५औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्।
आफ्नै गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा सम्पन्न कांग्रेस संस्थापन इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन भएका हुन्। काठमाडौंमै रहेका देउवाले वारेसनामामार्फत क्षेत्रीय प्रतिनिधिका लागि उमेदवारी दर्ता गराएका थिए।
डडेलधुराका ५२ वडामध्ये ३० वडामा अधिवेशन सम्पन्न भइसकेको छ। बाँकी वडामा शुक्रबार र शनिबार अधिवेशन हुने डडेलधुरा कांग्रेसका उपसभापति तथा जिल्ला संयोजक दिल्लीराज जोशीले बताए।
उनका अनुसार बाँकी वडाको अधिवेशन सम्पन्न भएपछि क्षेत्रीय प्रतिनिधि छनोटको प्रक्रिया अघि बढ्नेछ।












