कार्यकर्ताबीच भएको झडपका कारण स्थगित भएको नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशन शुक्रबार बिहानदेखि पुनः शुरू भएको छ।

यसअघि सुन्दरहरैँचामा अवरुद्ध भएको अधिवेशन स्थल परिवर्तन गरी बूढीगङ्गा गाउँपालिका–३ स्थित राजवंशी खवास सामुदायिक भवनमा शुरू गरिएको हो।

पार्टीले निर्वाचन प्रक्रिया अघि बढाउन मोरङ कांग्रेसका सहसचिव सञ्जयकुमार मण्डललाई नयाँ निर्वाचन समितिको संयोजक तोकेको छ।

जिम्मेवारी पाएलगत्तै संयोजक मण्डलले शुक्रबार बिहानैदेखि निर्वाचन कार्यतालिका अघि बढाएका हुन्। 

नेताहरूका अनुसार आजै मनोनयन दर्ता र मतदान सम्पन्न गरेर नयाँ कार्यसमिति तथा महाधिवेशन प्रतिनिधिहरू चयन गर्ने तयारी गरिएको छ।

यसैबीच, क्षेत्रीय सभापति देबु तामाङले भने पुनः शुरू भएको अधिवेशन प्रक्रिया बहिष्कार गर्ने घोषणा गरेका छन्।

शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले विराटनगर, बूढीगङ्गा र सुन्दरहरैँचाका कतिपय वडा सभापतिहरूलाई समेत कुनै जानकारी नदिई एकलौटी रूपमा चुनाव गराउन लागिएकाले आफूहरू सहभागी नहुने बताएका छन्। सभापति पक्षको बहिष्कारका बाबजुद नयाँ निर्वाचन समितिले भने प्रक्रिया अगाडि बढाइसकेको छ।