कोशी प्रदेश योजना आयोगका नवनियुक्त दुई सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।

आयोगको सदस्यमा नियुक्त तोयानाथ खतिवडा (रुपेश) र हरिकुमारी राईलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार पद तथा गोपनीयताको शपथ गराएका हुन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समारोहमा दुवै सदस्यले शपथ ग्रहण गरेका हुन्।

प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विराटनगर–३ निवासी खतिवडा र खोटाङकी राईलाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो। यसअघि सत्ता गठबन्धनका तर्फबाट नियुक्त नेपाली कांग्रेसनिकट दुई सदस्यले राजीनामा दिएपछि आयोगमा पद रिक्त थियो। रिक्त स्थानमा नयाँ सदस्य नियुक्त गरिएको हो।

यसैबीच, मन्त्रिपरिषद् बैठकले असोज २२ र २३ गतेका लागि निर्धारित मुख्यमन्त्री सम्मेलनको मिति पनि परिवर्तन गरेको छ। अब सम्मेलन असोज २७ र २८ गते आयोजना हुने निर्णय भएको छ।