प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वर्तमान सरकारको ६ महिने कार्यकालमाथि प्रश्न उठाउँदै भ्रष्टाचार नियन्त्रण र अपराधीमाथि कारबाही गर्न ढिलाइ नगर्न चेतावनी दिएका छन्।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले सत्तापक्षले प्रतिशोधको भावना त्यागेर सुशासन र रोजगारीको क्षेत्रमा ठोस नीति अघि बढाए आफ्नो दलले बिनासर्त साथ दिने प्रतिबद्धता व्यक्त गरेका हुन्। 

शाहीले तत्कालीन जनआन्दोलनको भावना र जनताको अपेक्षाअनुसार सरकार अघि बढ्न नसकेको टिप्पणी गरे। आन्दोलनका क्रममा भएको हत्या, हिंसा र सिंहदरबार तथा संसद् भवन तोडफोडका घटनामा संलग्न दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन सरकारले उदासीनता देखाएको आरोप उनले लगाए। 

लामो समयदेखि थन्किएका भ्रष्टाचारका ठूला काण्डहरू एनसेल, गिरीबन्धु टी-स्टेट, भुटानी शरणार्थी प्रकरण र चिनियाँ विमान खरिद घोटालाको छानबिन कहाँ पुग्यो भन्दै उनले सरकारसँग स्पष्ट जवाफ मागे। कानुनको प्रयोग प्रतिशोध साँध्न नभई न्यायका लागि हुनुपर्नेमा उनले जोड दिए।

उनले भने, ‘हामी सरकारका प्रतिपक्षी हौँ, विरोधी होइनौँ। यदि भ्रष्टाचारीलाई कारबाही गर्ने हो भने हामी तपाईंहरूकै साथमा छौँ, सडकदेखि संसद्सम्म साथ दिन्छौँ। हामी सरकारलाई सही मार्ग देखाउन चाहन्छौँ। सत्तापक्षका सांसदहरूले सरकारका कमजोरी ढाकछोप गर्ने होइन, बरु सही बाटो देखाउन सक्नुपर्छ। हामी दास होइनौँ, त्यसैले सरकारका गलत कदमको विरोध गर्न हामी पछि हट्ने छैनौँ।’

रोजगारीको विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै शाहीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवाहरूको लर्को देख्नुपर्ने विवशताको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए। युवाहरू विदेशिन नपर्ने वातावरण निर्माण गर्न र ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने अवधारणासहित संविधान संशोधनको प्रक्रिया अघि बढाउन उनले माग गरेका छन्।