सुनसरीको बर्जु गाउँपालिका–२ स्थित विराटनगर–बेलाहा सडकखण्डबाट प्रहरीले ठुलो परिमाणमा गाँजासहित एउटा गाडी नियन्त्रणमा लिएको छ।
बुधबार राति करिब ११ः४० बजे विराटनगरबाट बेलाहातर्फ जाँदै गरेको बा १२ च १७३८ नम्बरको गाडीलाई शंका लागेर प्रहरीले चेकजाँच गर्न खोज्दा चालक गाडी छाडेर फरार भएका थिए।
इलाका प्रहरी कार्यालय सीतागञ्ज, प्रहरी चौकी अमडुवा र सशस्त्र प्रहरी बल (बीओपी) अमडुवाको संयुक्त गस्ती टोलीले चेकजाँच गर्ने क्रममा गाडीभित्र ५६४ किलो गाँजा फेला पारेको सुनसरी प्रहरीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक हेमराज वलीले जानकारी दिए।
प्रहरीका अनुसार बरामद गाँजा र नियन्त्रणमा लिइएको गाडीलाई इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको छ।
फरार चालकको पहिचान तथा खोजीका लागि प्रहरीले अनुसन्धान तीव्र बनाएको छ।












