नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको संस्थापन इतर समूहको आज हुन लागेको वडा अधिवेशनमा सक्रिय रूपमा सहभागी हुन सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई अपिल गरेका छन्।
कांग्रेसको देउवा पक्षीय समूहको १५औं महाधिवेशनअन्तर्गत आज देशभरका वडाहरूमा अधिवेशन हुँदैछ। सोही सन्दर्भमा एक अपिल जारी गर्दै पूर्वसभापति देउवाले देशभरका छ हजार ७४३ वटै वडामा एकैसाथ विधि र प्रक्रिया पूरा गरेर सुरु हुन लागेको अधिवेशनमा हर्षोल्लासका साथ सहभागी भई सम्पन्न गराउन आग्रह गरेका छन्।
नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासनका लागि कांग्रेसले आठ दशकदेखि ठूलो बलिदान र सङ्घर्ष गरेको स्मरण गराउँदै पूर्वसभापति देउवाले पार्टीको १५औँ महाधिवेशन निकै महत्वपूर्ण रहेको उल्लेख गरेका छन्।
नेपाली कांग्रेसको संस्थापन पक्षको १५औँ महाधिवेशन यही असोज १८ गतेदेखि सुरु हुने तयारी भइरहँदा देउवा नेतृत्वको इतर पक्षले भने आगामी मङ्सिर २१ देखि २३ गतेसम्मका लागि समानान्तर महाधिवेशनको मिति तय गरी आजैदेखि वडा अधिवेशन सुरु गरेको हो।












