एमाले महासचिव शंकर पोखरेलले पूर्वप्रधानन्यायाधीशको गिरफ्तारीप्रति आपत्ति जनाएका छन्। घटना नेपालको प्रचलित कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन भएको पोखरेलको दाबी छ।

सामाजिक सञ्जालमार्फत पोखरेलले कुनै प्रमाण र अभियोगबिनै पूर्वप्रधानन्यायाधीशलाई गिरफ्तार गर्नु संविधान, लोकतान्त्रिक व्यवस्था तथा विधिको शासनको मर्मविपरीत भएको दाबी गरेका छन्।

उनले पूर्वप्रधानन्यायाधीशको गिरफ्तारीलाई ‘गैरकानूनी र स्वेच्छाचारी कार्य’को संज्ञा दिँदै यस्तो कार्यलाई समर्थन गर्नु तानाशाही प्रवृत्तिलाई प्रश्रय दिनु सरह हुने बताए।

पोखरेलले भने, ‘बिना कुनै प्रमाण र अभियोग पूर्वप्रधानन्यायाधीशलाई गरिएको गिरफ्तारी नेपालको प्रचलित कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन हो। यो हाम्रो संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासनको मर्मविपरीतको काम हो।’

पोखरेलले राज्यका निकायबाट हुने हरेक काम कानून र स्थापित न्यायिक प्रक्रियाअनुसार हुनुपर्नेमा जोड दिएका छन्। उनले गैरकानूनी तथा स्वेच्छाचारी कदमविरुद्ध सबैले खबरदारी गर्नुपर्ने धारणा पनि राखेका छन्।

‘यस्तो गैरकानूनी र स्वेच्छाचारी कार्यलाई समर्थन गर्नु भनेको प्रत्यक्ष रूपमा तानाशाही प्रवृत्तिलाई प्रश्रय दिनु हो। तसर्थ सबैले गलत कामको खबरदारी गरौँ, उनले भनेका छन्।