नेपाली कांग्रेसले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिनिधित्व गर्ने उच्च पदाधिकारीहरूले प्रस्तुत गर्ने तथ्याङ्कमा देखिएको अस्पष्टताप्रति ध्यानाकर्षण भएको जनाएको छ।
पार्टी प्रवक्ता देवराज चालिसेले प्रधानमन्त्री र परराष्ट्र मन्त्रीका सम्बोधनमा विपद्जन्य क्षतिसम्बन्धी तथ्याङ्क फरक-फरक देखिएको भन्दै यस्तो त्रुटिपूर्ण सन्देशले मुलुकको छविमा असर पुग्ने बताएका छन्।
प्रधानमन्त्रीको अन्तर्राष्ट्रिय मञ्चमा हुने सहभागिता र सम्बोधन समग्र देशको प्रतिनिधित्व हुने भएकाले यसलाई अत्यन्त संवेदनशील रूपमा लिनुपर्ने प्रवक्ता चालिसेको भनाइ छ।
उनले भने, “नेपाली कांग्रेसले प्रधानमन्त्रीज्यूलाई भेटेरै अन्तर्राष्ट्रिय समुदायमा नेपालले उठाउनुपर्ने विषयबारे आवश्यक सुझाव दिएको थियो। प्रधानमन्त्रीको सम्बोधनमा हाम्रा सुझावहरू समेटिनु सकारात्मक पक्ष हो।”
यद्यपि, एउटै विपद्को विषयमा परराष्ट्र मन्त्री र प्रधानमन्त्रीको सम्बोधनमा देखिएको तथ्याङ्कीय फरकप्रति उनले असन्तुष्टि व्यक्त गरे। प्रवक्ता चालिसेले भने, “विपद्को क्षतिबारे परराष्ट्र मन्त्रीको सम्बोधनमा जीडीपी (कुल गार्हस्थ्य उत्पादन) को करिब १५ प्रतिशत र प्रधानमन्त्रीको सम्बोधनमा पुनर्स्थापना तथा पुनःनिर्माणका लागि करिब १० प्रतिशत उल्लेख हुनुले द्विविधा सिर्जना गरेको छ।”
उनले यी दुवै तथ्याङ्क फरक सूचकमा आधारित अनुमान हुन सक्ने भए पनि त्यसको आधार, परिभाषा र स्रोत स्पष्ट हुनुपर्नेमा जोड दिए। “देशका प्रमुख प्रतिनिधिहरूले अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने राष्ट्रिय तथ्याङ्कमा यस्तो अस्पष्टता देखिनु राम्रो सन्देश होइन। जिम्मेवार निकायले यस्ता तथ्याङ्क प्रस्तुत गर्दा एकरूपता र पारदर्शितामा विशेष ध्यान दिनुपर्छ,” प्रवक्ता चालिसेले भने।
अन्तर्राष्ट्रिय मञ्चहरूमा देशको आधिकारिक धारणा र तथ्याङ्क प्रस्तुत गर्दा सरकार थप जिम्मेवार र सजग हुनुपर्ने कांग्रेसको निष्कर्ष छ।












