बिराटचोक, मोरङ । पूर्वाञ्चल ल्युब आयल लिमिटेड (पीएलओ लुब्रिकेन्ट्स) र विराटनगर किंग्सबीच नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ का लागि साझेदारी सम्झौता भएको छ। सम्झौताअनुसार पीएलओ लुब्रिकेन्ट्स विराटनगर किंग्सको ‘अफिसियल पर्फर्मेन्स पार्टनर’ रहनेछ।

मंगलबार  मोरङको बिराटचोकस्थित नेपालिरिका होटलमा आयोजित कार्यक्रममा पीएलओ लुब्रिकेन्ट्सका अध्यक्ष भोलेश्वर दुलाल र विराटनगर किंग्सका मालिक सुयेश प्याकुरेलले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

DSC00055.JPGपीएलओ र विराटनगर किंग्सबीचको यो लगातार तेस्रो वर्षको साझेदारी हो। कोशी प्रदेशका दुई संस्थाबीच निरन्तर तीन सिजनसम्म कायम रहेको यो सहकार्यलाई नेपाली खेलकुद क्षेत्रमा दीर्घकालीन साझेदारीको उदाहरणका रूपमा लिइएको छ।

पीएलओ लुब्रिकेन्ट्सले पीएलओ, स्टार, मेगा, सुरक्षा र प्राइम ब्रान्डअन्तर्गत लुब्रिकेन्ट्स तथा ग्रीस उत्पादन गर्दै आएको छ। २०५८ सालमा स्थापना भएको कम्पनीले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गरेको छ भने सन् २०२३ मार्चदेखि API लाइसेन्ससमेत प्राप्त गरेको कम्पनीले जनाएको छ।

DSC00046.JPGसम्झौतापछि पीएलओ लुब्रिकेन्ट्सका अध्यक्ष भोलेश्वर दुलालले विराटनगर किंग्स कोशीको गौरव भएको उल्लेख गर्दै टोलीसँग तेस्रो वर्ष पनि सहकार्य गर्न पाउनु यस क्षेत्र र नेपाली क्रिकेटप्रतिको प्रतिबद्धता भएको बताए।

विराटनगर किंग्सका मालिक सुयेश प्याकुरेलले पीएलओले सुरुदेखि नै टोलीलाई साथ दिँदै आएको भन्दै हरेक सिजनमा निरन्तर साथ दिने साझेदारले फ्रेन्चाइजलाई दीर्घकालीन रूपमा अघि बढ्न सहयोग पुग्ने बताए।

DSC09984.JPGएनपीएलको तेस्रो संस्करणमा आठ टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा ३२ खेल हुनेछन् भने २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म प्रतियोगिता सञ्चालन हुने जनाइएको छ।

सम्झौता कार्यक्रम बिराटचोकस्थित नेपालिरिका होटलमा आयोजना गरिएको थियो। होटलले कोशी क्षेत्रमा खेलकुद तथा व्यावसायिक कार्यक्रमका लागि सहकार्य गर्दै आएको छ।