सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा खत्री संसद्को विशेष समयमा ‘भक्कानिँदै’ आफ्नो अभिव्यक्ति दिएकी छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले ‘छोराको ज्यानसँग सांसद् पद साटेको’ आरोप लगाएको भन्दै भक्कानिएकी हुन्। उनले सहिदकी आमाको अपमान हुँदा सरकार के हेरेर बसेको छ भन्दै प्रश्न समेत गरिन्।
‘आज यो गरिमामय सदनमा उभिनु मेरा लागि कुनै राजनीतिक रहर या पदको लालच थिएन। यो मेरो न्याय खोज्ने यात्रा थियो। मेरो कोखमा नौ महिना हुर्किएको, ताते ताते गर्दै मेरा आँखासामु नै बढेको मेरो मुटुको टुक्रा, त्यतिबेलाको शासकले चलाएको तातो गोली र उसको बगेको रगतले न्याय खोज्दै थियो‚’ उनले भनिन्।
सांसद बन्नु एउटा विश्वास र पवित्र यात्रा भएको भन्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी आफ्नो घरको दैलोसम्म पुगेको र प्रधानमन्त्री वालेन्द्र शाहले बारम्बार आग्रह गरेपश्चात् आफू सांसद बनेको समेत स्पष्ट पारिन्।
‘अन्य तमाम जेन्जीहरूको, सन्तानहरूको बलिदान खेर जान नदिन म यो सदनमा पुगेकी हुँ। देशमा यत्रो परिवर्तन आएपछि पनि यदि सरकारले बाटो बिराउँछ, बिराउन खोज्छ भने संसद्को यो रोस्टममा एउटी सहिदकी आमाले निरन्तर खबरदारी गर्नुपर्छ भनेर म यहाँ आएकी हुँ। यो मेरो यात्राको उद्देश्य शासकहरूले आफ्नो गलत बाटो समयमै सुधारून् भनेर हो‚’ उनले भनिन्।
मन्तव्यको क्रममा अझ भावुक हुँदै उनले जुन दिन जेन्जी आन्दोलनका सहिदहरूले पूर्ण रूपमा न्याय पाउँछन्, त्यस दिन आफूले सांसद पदबाट राजीनामा दिन एक सेकेन्ड पनि हिचकिचाहट नहुने स्पष्ट पारिन्।
‘तर, विडम्बना! मेरो यो पवित्र उद्देश्य र छातीको घाउलाई कसैले ‘छोराको लासमाथि सांसद पद साटेकी’ भन्दै अपमानजनक टिप्पणी गरेको सुन्दा म स्तब्ध छु। मेरो छातीको पीडामाथि कसैको बा खोज्न आएजस्तो गरी राजनीतिक आक्रमण गरेकोमा मैले सीधा प्रश्न गर्न चाहन्छु‚’ उनले थपिन्‚‘तपाईंहरूका छोराछोरी तपाईंसँग छन्। उनीहरूसँग हाँस्छन्, खेल्छन्, भविष्य देख्न पाउनुहुन्छ। तर मेरो संसार उजाडिएको छ, मेरो काख रित्तिएको छ। यो ठाउँमा उभिएर तपाईंहरू एकचोटी हेर्दिनुस् त। आज पनि कसैले मेरो छोरो जिउँदो ल्याएर मेरो काखमा राखिदिन्छ भने म अहिले नै सांसद पद त्याग्न तयार छु।
‘त्यसैले आरोप लगाउनुअघि, छोराको लाससँग पद साट्न आएकी भन्ने मर्यादाहीन अपशब्द बोल्नुअघि हजार पटक सोचिदिनुस्। एउटा आमाको ममता र पीडामाथि प्रहार गर्ने दुस्साहस नगरिदिनुस्‚’ उनले भनिन्।
सोझा नागरिकलाई उचालेर उनीहरूलाई मराउन र लडाउन आफू नेता नबनेको खत्रीको भनाइ छ। ‘म मेडिकल माफिया बन्न आएकी पनि होइन। म त खबरदारी गर्न आएकी हुँ। मेरो छोरो र म, त्यो सहिद भयो। कमसेकम अब मेरा छोराजस्ता अरू छोराहरू मर्न नपरोस् भन्ने चाहना लिएर बेलाबेला खबरदारी गर्न आएकी हुँ‚’ उनले भनिन्‚‘मेरो पनि थुप्रै प्रश्नहरू अहिलेको सरकारसँग छन्। मेरो पनि थुप्रै असहमति छन्। तर म जिम्मेवार भएर बोल्छु।’
उनले अहिलेसम्म जे जसरी बोले पनि अब भने बोल्दा ख्याल गर्न अनुरोध गरिन्।
‘हाम्रा छोराहरूको रगत अझै पनि सुकेको छैन’, उनले भनिन्‚ ‘न्यायको अभाव आभास हुनेगरी काम गर्नुहोस्। कारागारमा भएका जेन्जी थुनुवाहरूलाई तत्कालै रिहा गर्नुहोस् । घाइतेहरूको उपचारका लागि संसारको जुनसुकै ठाउँमा लैजानुपरे पनि निःशुल्क उपचार होस्। सहिद परिवारको चित्त बुझ्नेगरी काम गर्नुहोस्।’












