नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले त्रिपुरेश्वरमा भएको बस आगजनी घटनाको छानविनको माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद दुलालले उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि कारबाही गर्न तत्काल उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेका हुन्।
ट्राफिक प्रहरीसंगको विवादमा चालकले ‘दबाब दिए म लास हुनेछु’ भन्दा पनि प्रहरीले संवेदनशीलता नदेखाएको, विवेक गुमाएको र युवकलाई मृत्युको मुखमा पुग्नबाट जोगाउन नसकेको उनले बताए।
उनले ट्राफिक प्रहरी, नेपाल प्रहरी र नेपाल सरकार कसको हो तथा प्रहरी कसको निर्देशनमा चलेको छ भन्दै गृहमन्त्रीको जवाफ माग गरे।
यो घटना केवल एक चालकको आवेग मात्र नभई राज्यको प्रणालीप्रति नागरिकको चरम निराशा, बेरोजगारी र अस्थिर रोजगारीमा रहेका लाखौँ युवाको पीडाको अभिव्यक्ति भएको उनले बताए।
सांसद दुलालले ठूला सवारीको लाइसेन्स लिन साना सवारीको लाइसेन्स अनिवार्य चाहिने हालको झन्झटिलो व्यवस्था सच्याउनुपर्ने बताए। ट्राफिक प्रहरी र नियमनकारी निकायहरू मर्यादित, अनुशासित हुनुपर्ने उनको भनाइ छ।












