रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका व्यक्तिहरूको खोजीका क्रममा टनेलभित्रबाट ६ वटा शव निकालिएको छ।

नेपाली सेनाले शुक्रबार दिउँसो १२:0५ मा सार्वजनिक गरेको खोज तथा उद्धार अपडेटअनुसार आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्दा अडिट-३ टनेलभित्र शवहरू फेला पारेको हो।

शवहरू ढलानका लागि तयार पारिएको फलामे डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा भेटिएका थिए। ग्राइन्डर, ग्यास कटर र रोटरी रेस्क्यु उपकरण प्रयोग गरी ती शवलाई टनेलबाट बाहिर निकालिएको सेनाले जनाएको छ।

सेनाका अनुसार टनेलभित्र हिलोले छोपिएको अवस्थामा थप शवजस्तो आकृति देखिएकाले उक्त क्षेत्रमा खोजी कार्य जारी राखिएको छ।