सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार एक जना घाइते भएका छन्।
इटहरी उपमहानगरपालिका–४ आर्मी क्याम्पनजिक शुक्रबार बिहान पानी परिरहेका बेला उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १९ प ३१५० नम्बरको मोटरसाइकल सडकमा चिप्लिएर अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको थियो। दुर्घटनामा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ वर्षीय मोटरसाइकल चालक अनिल राई गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि सामुदायिक अस्पताल इटहरी लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल रेफर गरिएको थियो।
विराट शिक्षण अस्पताल पुर्याएलगत्तै चिकित्सकले राईलाई मृत घोषणा गरेको कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी दीपक गिरीले जानकारी दिए। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भिरगाउँकै २६ वर्षीय सन्दीप राई घाइते भएका छन्। उनको विराट शिक्षण अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
पानी परिरहेका कारण सडक चिप्लो हुँदा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।












