आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत भदौ महिनाका विजेताको छनोट बिहीबार हुँदै छ। विभागका अनुसार भदौ महिनाभरका ३१ जना र थप २ जना बम्पर गरी कुल ३३ जना विजेताको नाम आज घोषणा गर्न लागिएको हो।

रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण भदौ १६ गतेका लागि तय भएको उपहार घोषणा कार्यक्रम स्थगित गरिएको थियो।

कार्यक्रमअन्तर्गत भदौ महिनाका प्रत्येक दिनका आधारमा चुनिएका ३१ जना विजेताले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। त्यसैगरी बम्पर उपहार विजेता २ जनाले जनही १० लाख रुपैयाँ पाउने विभागले जनाएको छ। अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३र८४ देखि करदाताहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरेको हो।