राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी अनलाइन ‘द ग्रे जोन’ले रास्वपालाई जिताउन अमेरिकाबाट लगानी भएको दाबी गर्दै प्रकाशित गरेको रिपोर्ट आफूले नपढेको बताएका छन्।
बुधबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बसेको सर्वदलीय बैठकपछि बाहिरिएका रविलाई पत्रकारले ग्रे जोनको रिपोर्टबारे प्रश्न गरेका थिए।
‘तपाईंले कसरी हेर्नुभयो ? यो के रहेछ ग्रे जोन भन्ने ? कुन पत्रिका रहेछ ? कहाँबाट आएको रहेछ ? यति ठूलो हल्ला छ र ? त्यस्तो हो र ? तर मैले पढेको छैन,’ लामिछानेले भने।
उनले आफूले विश्वसनीयता नभएका र अफवाहजस्ता लाग्ने सामग्री नपढ्ने बताए। ‘म चाहिँ जुन चिजको क्रेडिबिलिटी छैन, त्यस्तो कुरा पढ्दिनँ। जुन चिज अफवाह हो, हावा हो भन्ने लाग्छ भने म हेर्दै हेर्दिनँ,’ उनले भने।
लामिछानेले आधारहीन सामग्री पढेर पत्रकार तथा सञ्चारकर्मीले समय खेर फाल्न नहुनेसमेत बताए। ‘अन्टसन्ट कुरा आयो भने म त पढ्दिनँ। झुटोसुटो लेख्यो भने म पढ्दिनँ। त्यस्तो नहुने कुराको पनि समाचार कसले पढिरहन्छ ? यत्रो देशका पत्रकारको समय बर्बाद गर्नुहुँदैन,’ उनले भने।












