बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नं. १ निवासी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर उत्पन्न तनाव अन्ततः ५ बुँदे सहमतिपछि साम्य भएको छ। 

पीडित पक्ष र प्रशासनबीच गएराती भएको वार्ता सफल भएसँगै चरणबद्ध रूपमा भइरहेका आन्दोलनका सबै कार्यक्रमहरू तत्कालका लागि स्थगित गरिएका छन्।

भाद्र २ गते घटेको उक्त अमानवीय घटनालाई लिएर पीडित परिवार, आफन्त, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र जिल्ला सुरक्षा समिति, बाराबीच गएराति पथलैयास्थित सशस्त्र प्रहरी बलको प्राविधिक तालिम शिक्षालयमा लामो छलफल भएको थियो।

वार्तामा पीडित परिवार, आफन्त, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र जिल्ला सुरक्षा समिति, बाराबीच निम्न ५ बुँदे सहमति भएको छ।

राहत र रोजगारीको सिफारिसः  पीडित परिवारको लागि उचित राहत र रोजगारीको व्यवस्थापन गर्न स्थानीय तहको समेत सहभागितामा नेपाल सरकार गृह मन्त्रालय समक्ष सिफारिस गरी पहल गर्ने।

थप दोषीमाथि कडा कारबाहीः  घटनामा संलग्न संदिग्धहरू हाल प्रहरी हिरासतमा रहे पनि अनुसन्धानका क्रममा अन्य कसैको संलग्नता पुष्टि भएमा उनीहरूमाथि पनि नियमानुसार कडा कारबाही अघि बढाउने।

सुरक्षा व्यवस्था सुदृढ गर्नेः  जिल्लाको वर्तमान र भविष्यका सुरक्षा चुनौतीहरूको विश्लेषण र पुनरावलोकन गरी नागरिकलाई भरपर्दो र विश्वसनीय सुरक्षा वातावरण मिलाउने जिम्मेवारी जिल्ला सुरक्षा समितिले लिने।

लापरबाही गर्ने सुरक्षाकर्मीलाई कारबाहीः  इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत रहँदा कार्यसम्पादनमा लापरबाही देखाउने सुरक्षाकर्मीहरूलाई आवश्यक कारबाही गर्ने माग पूरा भएको।

आन्दोलन स्थगितः  सहमति भएकै मितिदेखि आन्दोलनका सम्पूर्ण विरोधका कार्यक्रमहरू पूर्ण रूपमा स्थगित गर्ने।

जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले वार्तामा भएको छलफल र पाँच बुँदे सहमतिको पुष्टि गर्दै स्थिति सामान्य बन्दै गएको जानकारी दिए। मागहरू पूरा हुने सुनिश्चितता पाएपछि प्रशासन र पीडित पक्ष आन्दोलन रोक्न सहमत भएका हुन्।