नेपाली कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

कांग्रेस संसदीय दलको बैठक जारी रहेकै अवस्थामा सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रदेशसभा सचिवालयमा पत्र पठाइएको प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिए। उनका अनुसार कांग्रेसले अब प्रदेशसभामा विपक्षी बेञ्चमा बस्ने जानकारी पनि गराएको छ।

कोशी प्रदेशसभामा कांग्रेसका २९ सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा कांग्रेस सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमाथि राजनीतिक दबाब बढेको छ।

मुख्यमन्त्री कार्कीले सरकारलाई विश्वासको मत दिन कांग्रेसलाई आग्रह गरेका थिए। तर, कांग्रेस संसदीय दलले भने विश्वासको मत दिनुको सट्टा सरकारलाई दिएको समर्थन नै फिर्ता लिने निर्णय गरेको हो। यसअघि कांग्रेस र एमालेबीचको सत्ता सहकार्यअनुसार कांग्रेस सरकारमा सहभागी थियो।