झापाको बिर्तामोड नगरपालिका–६ स्यालडाँगीबाट प्रहरीले ५२८ ग्राम लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिर्तामोड–६ स्यालडाँगीकी ३६ वर्षीया गीता महतो रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
महतोको घरमा लागूऔषध गाँजा बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बुधबार राति प्रहरी टोलीले उनको घरमा जाँच गरेको थियो।
इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी जवान मनिष धिमाल तथा अस्थायी प्रहरी चौकी बुट्टाबारीबाट प्रहरी सहायक निरीक्षक नवराज आचार्यको संयुक्त टोलीले राति करिब ८ः५० बजे महतोको घरमा जाँच गर्दा कोठाभित्र लुकाइछिपाइ राखिएको गाँजाजस्तो देखिने पदार्थ फेला पारेको थियो।
प्रहरीका अनुसार बरामद पदार्थलाई मान्यताप्राप्त डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ६०९ ग्राम र प्लास्टिकबाहेक ५२८ ग्राम रहेको थियो।
बरामद लागूऔषधसहित महतोलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












