बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिकाको जबर्जस्ती करणीपछि हत्या भएको छ । प्रहरीले हत्या आरोपीलाई पक्राउ गरेको छ। मंगलबार साँझ पौने पाँच बजे नाबालिका गरिमा चौधरी मृत फेला परेकी थिइन्।

लगत्तै घटनास्थलमा इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुखहरू पुगेर अनुसन्धान शुरू गरेका थिए। अनुसन्धानको लागि नेपाल प्रदेश प्रहरी कार्यालय पर्सा विरगञ्जबाट तालिम प्राप्त कुकुर लगिएको थियो ​

मृतक नाबालिका जीतपुर सिमरा उपमहानगरपालिका–१ दसधुरी बस्ने मनमती चौधरीकी छोरी हुन्। उनी साउन ३१ गतेबाटै घरबाट हराएकी थिइन्।

गरिमालाई ३१ गते नै बिहान साढे आठ बजेतिर ना १ ज ७७५८ नम्बरको म्याजिकको सह चालक सुमन थापाले चकलेट दिएर ललाई फकाई गरी जबर्जस्ती करणी गरी हत्या गरेको प्रहरीको दाबी छ।

प्रहरीले हत्या आरोपी थापा र उक्त म्याजिकका धनी प्रोगेस चौधरीलाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं एसपी नरेन्द्र कुँवरले जानकारी दिए।