जाजरकोटको भेरी नगरपालिका–२, रिसाङमा बाढी तथा पहिरो प्रभावित स्थानीयवासीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। चार जनाको ज्यान जाने गरेर आएको बाढी तथा पहिराले १० जना घाइते भएका छन्। दर्जनौ मानिसहरु घर छाडेर खुल्ला आकाशमा विद्यालयमा आश्रय लिइरहेका छन्। 

जिल्ला प्रहरी कार्यालय जाजरकोटको आयोजनामा तथा कर्णाली प्रदेश प्रहरी अस्पताल, सुर्खेतको समन्वयमा सोमबार बिहानदेखि त्रिभुवन आधारभूत विद्यालयको प्राङ्गणमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। 

शिविरमा कर्णाली प्रदेश प्रहरी अस्पताल, सुर्खेतबाट प्राविधिक प्रहरी नायब उपरीक्षक अमितकुमार ठाकुरको कमाण्डमा ६ जना स्वास्थ्यकर्मी तथा जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक राजेश शाहीको कमाण्डमा ७ जना प्रहरी कर्मचारीको टोली खटिएको छ। 

स्वास्थ्य शिविरमा ८५ जना पहिरो प्रभावित स्थानीयवासीको स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ। स्वास्थ्य परीक्षणपछि आवश्यक औषधिसमेत निःशुल्क वितरण भएको छ। 

बाढी तथा पहिरोका कारण प्रभावित नागरिकलाई विपद्को समयमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो। नेपाल प्रहरीले विपद्का समयमा सुरक्षा, उद्धारसँगै स्वास्थ्य तथा मानवीय सेवामा समेत निरन्तर सहयोग गर्दै आएको जाजरकोटका प्रहरी प्रमुख बुद्धीसागर पुरीले जानकारी दिए।