रास्वपा सांसद आशिका तामाङले विदेशमा मृत्यु भएका नेपालीहरूको शव स्वदेश ल्याउन सरकारले चासो नदेखाएको भन्दै आक्रोश व्यक्त गरेकी छन्। 

सोमबार प्रतिनिधिसभा बैठकमा सांसद तामाङले धादिङका सन्तोष राईको शव कम्बोडियाबाट नेपाल ल्याउन ३७ दिनदेखि शून्य समयमा आवाज उठाए पनि हालसम्म कार्यान्वयन नभएको भन्दै आक्रोश व्यक्त गरेकी हुन्।

विदेशमा अलपत्र शव व्यवस्थापन गर्न अर्थ मन्त्रालयले बजेट विनियोजन गरिसके पनि परराष्ट्र मन्त्रालयले कार्यविधि नबनाउँदा बजेट कार्यान्वयन हुन नसकेको र आफन्तहरू शव पाउने आशा गुमाउने अवस्थामा पुगेको उनले बताइन्।

आफ्नो प्रश्नको सम्बोधन र सभामुखबाट रुलिङ नआएसम्म सदनमा उभिएरै विरोध जारी राख्ने चेतावनी दिएकी थिइन्।