गृहमन्त्री सुधन गुरुङले सार्वजनिक लेखा समितिमा गृह सचिव राजकुमार श्रेष्ठ र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि भएको व्यवहारप्रति आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले आफ्नो अनुपस्थितिमा सार्वजनिक लेखा समितिमा गृह सचिव र आईजीपीमाथि भएको व्यवहारप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताए।
‘मेरो अनुपस्थितिमा गृह सचिव र नेपाल प्रहरीका आईजीपीलाई जुन व्यवहार सार्वजनिक लेखा समितिमा भयो, त्यसमा मेरो ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘यो राम्रो भएन। उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन। आरोप लगाउन पाइयो भन्दैमा चरित्र हत्या गर्न पाइँदैन। यसबारे गृह मन्त्रालयको ध्यानाकर्षण भएको छ। हामी खुसी छैनौं।’
गृहमन्त्री गुरुङले आईजीपी कार्कीले गृह मन्त्रालयको निर्देशनअनुसार दिनरात काम गरिरहेको आफू प्रत्यक्षदर्शी रहेको दाबी गरे। उनले प्रहरी प्रमुखको काम र कार्यसम्पादनबारे आफू जानकार रहेको बताए।
सार्वजनिक लेखा समितिको बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले गृह सचिव श्रेष्ठ र आईजीपी कार्कीमाथि गरेको व्यवहारलाई लिएर आलोचना भइरहेको छ।












