जनकपुरमा मिटरब्याज तथा ठगीसम्बन्धी मुद्दामा पक्राउ परेका एकै घरका तीन जनालाई धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ।
जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरकी ४८ वर्षीया रेखा साह, उनका छोरा ३२ वर्षीय हरेराम साह र जेठाजु ५३ वर्षीय गोपाल साहलाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो।
ठगी (अनुचित लेनदेन) र आपराधिक विश्वासघात मुद्दामा गत १ साउनमा उनीहरूलाई धनुषा प्रहरीले पक्राउ गरेको थियो।
बुधबार र बिहीबार भएका थुनछेक बहसपछि धनुषा जिल्ला अदालतले तीनै जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो। इजलास नम्बर ११ की न्यायानीधश हिरामाया अवालको इजलासले यस्तो आदेश दिएको हो।
दुईदिनसम्म मिटरब्याज पीडितहरू तथा पक्राउ परेकापक्षका माननिसहरू जिल्ला अदालत अगाडि प्रदर्शन गरेका थिए। यो मुद्दामा जाहेरवाला नेपाल प्रहीका पूर्वएसपएसपी गोबिन्दकुमार साहसमेत छन्।
विदेह नगरपालिका –८ बफैँका साहसहितको जाहेरीका आधारमा उनीहरूमाथि धनुषा प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाइएको थियो।
पक्राउ परेका गोपालको जनकपुरधामस्थित घरबाट ५० थान जग्गाधनी पुर्जा, १८ थान नागरिकता लगायतको कागजात तथा ल्यापटप बरामद गरेको थियो।
उनीहरूमाथि अनुचित लेनदेन तथा ठगीसम्बन्धी नौवटा मुद्दा दर्ता गरिएको छ। हालसम्म ६ वटा मुद्दामा मात्र सुनुवाइ भएको छ।
अन्य मुद्दामा सुनुवाइ जारी रहेको र अब अदालतको आदेश बमोजिम उनीहरूलाई जलेश्वर कारागार पठाउने प्रक्रिया अगाडि बढाइएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी मधुसुधन न्यौपानेले बताए।












