नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफूहरूले आउँदो १५ औँ महाधिवेशनबाट वर्तमान सभापति गगन थापालाई अत्यधिक मतसहित विजयी गराएर सभापति बनाउने दाबी गरेका छन्।

शुक्रबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उनले भने, ‘गगन थापाको पक्षमा ५१ होइन ७१ प्रतिशत मत ल्याएर सभापति बनाएर जान हामी प्रतिबद्ध छौँ।’

उनले पार्टीको १५ औँ महाधिवेशन सार्न नसकिने र तोकिएकै समयमा हुने उल्लेखसमेत गरे। ‘असोजको निर्धारित समयमै हामीले महाधिवेशन गर्नेछौँ,’ शर्माले भने, ‘त्यसभन्दा उता जान सकिने अवस्था नै छैन।’

उनले पार्टीभित्र युवा नेतृत्वलाई आत्मसात गर्नुपर्नेमा जोड दिए। ‘नेपाली कांग्रेस अहिले विधि र प्रक्रियामार्फत् परिवर्तनको अध्यायमा छ,’ शर्माले भने, ‘युवालाई अगाडि बढाउने विषयमा हामीले ३६ वर्षको युवक देशको प्रधानमन्त्री भएको इतिहासलाई आत्मसात गरेका छौँ भने ५० वर्ष हाराहारीको युवाले पार्टीको नेतृत्व गर्ने कुरालाई पनि सहज रूपमा स्वीकार्नुपर्छ।’