जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ। 

जिल्लामा हालसम्म नौ जनामा जेई सङ्क्रमण पुष्टि भएकोमा पाँच जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन्।

सङ्क्रमितमा मेचीनगरका तीन, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एक जना छन्। 

स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले सङ्क्रमित अधिकांश ५० वर्षभन्दा माथिका रहेको जानकारी दिनुभयो। जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरसजन्य रोग हो। सङ्क्रमण भएपछि भाइरसले मस्तिष्कमा असर गर्छ। 

सुँगुर र हाँस जेई भाइरसका मुख्य स्रोत मानिन्छन्। सुँगुर पालन गर्ने व्यक्ति तथा धानखेत र पानी जम्ने क्षेत्र आसपास बसोबास गर्नेहरू सङ्क्रमणको उच्च जोखिममा रहने गर्छन्।

स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोखरेलले जेईबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिन तथा सरकारले सञ्चालन गर्ने नियमित खोप कार्यक्रममा सहभागी भएर जेईविरुद्धको खोप लगाउन आग्रह गर्नुभयो।