मापदण्डविपरीत सञ्चालन गरेको पाइएपछि विराटनगरका ६ वटा आँखा अस्पताल शिलबन्दी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्व र कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रतिनिधिको सहभागितामा गरिएको अनुगमनका क्रममा ती अस्पतालहरूले न्यूनतम मापदण्डसमेत पूरा नगरेको पाइएपछि शिलबन्दी गरिएको हो।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाको नेतृत्वमा खटिएको टोलीले बुधबार र बिहीबार दुई दिन लगाएर अनुगमन गरेको थियो। टोलीले विराटनगर–१५ रानीस्थित अखण्ड ज्योति आँखा अस्पताल तथा मलाया रोडमा रहेका हिमाल आँखा अस्पताल, नेपाल आँखा अस्पताल, सञ्जीवनी आँखा अस्पताल, इफ्रास आँखा अस्पताल र विराट रानी आँखा अस्पताल शिलबन्दी गरेको छ। यस्तै, मापदण्ड नपुगेको भन्दै टोलीले विराट आँखा अस्पतालको ल्याब (प्रयोगशाला) मा पनि शिलबन्दी गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाका अनुसार अनुगमनका क्रममा ६ वटा अस्पताल र एउटा अस्पतालको ल्याबले कानुनी प्रक्रिया र प्राविधिक मापदण्ड मिचेर सेवा दिइरहेको पाइएको हो। ‘अन्य आँखा अस्पतालहरूमा पनि अनुगमन कार्य जारी छ,’ कोइरालाले भने, ‘मापदण्डविपरीत सञ्चालनमा रहेका जोसुकैलाई कानुनी दायरामा ल्याइनेछ र अस्पताल शिलबन्दी गरिनेछ।’

नियमअनुसार आँखा अस्पताल सञ्चालनका लागि कम्तीमा १०० शय्या हुनुपर्ने प्रावधान छ। तर, यहाँ शिलबन्दी गरिएका अस्पतालहरूले कोशी प्रदेश स्वास्थ्य निर्देशनालयबाट ‘आँखा उपचार केन्द्रका’ रूपमा मात्र स्वीकृति लिएर जटिल किसिमका शल्यक्रिया (सर्जरी) समेत गर्ने गरेको भेटिएको छ।

केही दिनअघि विराटनगर आएकी स्वास्थ्यमन्त्री निशा मेहताले यहाँ च्याउसरि खुलेका आँखा अस्पतालहरूबारे चासो व्यक्त गरेकी थिइन्। मन्त्रीको निर्देशनपछि स्वास्थ्य तथा स्वच्छता मन्त्रालयले अनुगमनका लागि पत्राचार गरेको थियो। सोही निर्देशनका आधारमा जिल्ला प्रशासन कार्यालयले सक्रियता देखाएको हो।

प्रचलित व्यवस्थाअनुसार २०० शय्यासम्मको अस्पताल सञ्चालन अनुमति प्रदेश स्वास्थ्य मन्त्रालयले दिने गर्दछ। सामान्य उपचार केन्द्रको अनुमति स्वास्थ्य निर्देशनालयको कार्यक्षेत्रमा पर्छ भने २०० शय्याभन्दा माथिका र विशिष्टीकृत अस्पतालको अनुमति संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट लिनुपर्ने प्रावधान छ।