दक्षिण अमेरिकी मुलुक कोलम्बियामा सोमबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ भने ५७० जना घाइते भएका छन्।

कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटिजले राष्ट्रपति नेतृत्वमा बसेको विपद् व्यवस्थापन बैठकपछि मृतक र घाइतेको संख्या सार्वजनिक गरेको हो। भूकम्पबाट सबैभन्दा बढी प्रभावित शहर पेरेइरामा मात्रै ६० जनाको ज्यान गएको छ।

भूकम्पपछि देशका पाँचवटा प्रमुख शहरमा ‘रेड अलर्ट’ घोषणा गरिएको छ। हालसम्म ८६ वटा भवन पूर्ण रूपमा भत्किएको पुष्टि भएको छ भने सातवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा स्थगित गरिएको छ। करिब पाँच लाख जनसंख्या रहेको पेरेइरा शहर भूकम्पको केन्द्रबिन्दुबाट ६४ किलोमिटरभन्दा कम दूरीमा अवस्थित रहेको बताइएको छ।

भूकम्पका धक्का राजधानी बोगोटासहित देशका विभिन्न शहरमा महसुस गरिएको थियो। बोगोटामा साइरन र चेतावनी प्रणाली सक्रिय भएपछि धेरै भवनबाट मानिसहरू सुरक्षित स्थानतर्फ बाहिरिएका थिए।

राष्ट्रपति अबेलार्डो दे ला एस्प्रिएलाले हालसम्म १ हजार ५७७ आवासीय भवनमा क्षति पुगेको र ३७ वटा भवन पूर्ण रूपमा ध्वस्त भएको जानकारी दिएका छन्। उनका अनुसार ६० भन्दा बढी भवन भत्किएका छन् भने १८ स्वास्थ्य संस्था र ५२ विद्यालयमा समेत क्षति पुगेको छ।

पश्चिम–मध्य कोलम्बियाको रिसाराल्दा विभाग सबैभन्दा बढी प्रभावित क्षेत्रका रूपमा देखिएको छ। रिसाराल्दाका गभर्नर जुआन डिएगो पाटिनोले उद्धार तथा राहत कार्य तीव्र पारिएको बताएका छन्।