नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बिहीबार सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता विवादमा गरेको निर्णयलाई लिएर विशेष महाधिवेशनलाई फेरि एकपटक पुष्टि गर्ने अवसर आएको बताएका छन्।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सर्वोच्चको निर्णयपश्चात ‘स्वाभाविक रूपमा केही प्रश्न उठ्छन्, हुने नै भए’ भन्ने टिप्पणी गरेका हुन्।

यसको बारेमा आधिकारिक धारणा आइतबार बस्ने पार्टी केन्द्रीय समितिको बैठकबाट तय गरिने बताए। “केन्द्रीय समितिको बैठक बसेर बडो धैर्यताका साथ छलफल गरेर हामीले हाम्रो मत, धारणा बनाउँछौँ, कुनै हतार छैन,” थापाले भने।

उनले आवश्यकता र अधिकारको आधारमा विशेष महाधिवेशन गरिएको र त्यो वैधानिक भएको दाबी गरे। “नेपाली कांग्रेसको विधानमा भएको व्यवस्थाअनुसार सार्वभौम सदस्यले निर्णय गरेर विशेष महाधिवेशन गरेका हौँ। आवश्यक पनि थियो, अधिकार पनि थियो। त्यसको वैधानिकता विशेष महाधिवेशनको हलबाट गर्‍यौँ,” थापाले भने, “निर्वाचन आयोग, सर्वोच्चको डिभिजन बेञ्चले पुष्टि गरिसक्यो। फेरि यसको पुष्टि गर्नुपर्छ भनेर सम्मानित अदालतले बोलेको सन्दर्भमा, विधानबमोजिम भएको अधिवेशन विशेष महाधिवेशन फेरि एकपटक वैधानिक थियो, ठिक थियो भनेर पुष्टि गर्ने अर्को अवसर पाएका छौँ भन्ने मैले लिएको छु।”

उनले अदालती प्रक्रियामा सहभागी हुने कर्तव्य रहेको र त्यसमा सहभागी हुनुका साथै वैधानिक कामको प्रतिरक्षा गर्ने बताए।

कांग्रेसमा देखिएको विवादलाई सभापतिको हिसाबले सबैलाई समटेर अगाडि बढ्ने उनको भनाइ थियो। “विशेष महाधिवेशनले दिएको म्यान्डेट छ, त्यो मैले बोक्नुपर्ने छ। विशेषमा नजाने साथीहरू पनि हुनुहुन्छ। उहाँहरू पनि म जत्तिकै अधिकार भएको साथीहरू हो। मैले सबैलाई समेटेर लिएर जानुपर्छ, म सचेत छु,” उनले भने।