राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष खनालले प्रतिनिधिसभाको बैठकमा नियमापत्ति जनाउँदै विपक्षी दलका सांसदहरूको व्यवहारप्रति प्रश्न उठाएका छन्। सांसद खनालले प्रतिनिधि सभा नियमावलीको नियम २१ को ‘ङ’ र नियम १५ लाई उद्धृत गर्दै संसद्को समय र कार्यविधि पालना गर्न आग्रह गरेका हुन्। 

नियमावलीको नियम २१ ‘ङ’ मा बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पुर्‍याउने मनसायले दुरुपयोग गर्न नहुने स्पष्ट व्यवस्था भए पनि विपक्षी सांसदहरूले त्यसलाई बेवास्ता गरेको उनले बताए। 

नियमावलीको नियम १५ ले शून्य समय, विशेष समय र आकस्मिक समयको स्पष्ट व्यवस्था गरेको उल्लेख गर्दै खनालले पछिल्लो समय ‘ढ्यापढ्याप’ गरेर एउटा विषयमा बोल्ने अनुमति लिने तर बजेट र क्षेत्रका असान्दर्भिक विषयहरू उठाउने प्रवृत्ति बढेको दाबी गरे। 

‘विपक्षी माननीयहरूले ढ्यापढ्याप गरेर उठ्नुहुन्छ, एउटा विषयमा बोल्न स्वीकृति लिनुहुन्छ तर बोल्दै जाँदा बजेट र अन्य विविध विषय उठाउनुहुन्छ,’ खनालले भने, ‘यसले गर्दा हामीले नै बनाएको शून्य, विशेष र आकस्मिक समयको महत्त्व र मर्यादाको अपमान भएको छ।’

सांसद खनालले जुन विषयमा केन्द्रित भएर समय मागिएको हो, सोही विषयमा मात्रै आफ्ना धारणा राख्नका लागि सभामुखमार्फत रुलिङको माग गरे। उनले संसद्को कार्यसूची र समयको गरिमालाई सबैले ख्याल गरिदिन समेत अनुरोध गरे।