इलाम : मेची राजमार्गको दीर्घकालीन वैकल्पिक मार्गका रूपमा १२ किलोमिटर सिमलगोलाई–तिलकेनी सडक निर्माण, जोगाई खोलामा पक्की पुल निर्माण तथा उक्त सडकलाई राष्ट्रिय सडक सञ्जालमा समावेश गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इलाम जिल्ला कार्यसमितिले सरकारसमक्ष ज्ञापनपत्र बुझाएको छ।

रास्वपा इलामका जिल्ला सभापति दिनेश महतका अनुसार पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग भेट गरी उक्त योजनाहरूका लागि आवश्यक बजेट विनियोजन गर्दै समयमै कार्यान्वयनका लागि पहल गर्न आग्रह गरिएको हो।

उनका अनुसार सिमलगोलाई–तिलकेनी सडक र जोगाई खोलाको पुल निर्माणसँगै विभिन्न स्थानीय तहका अत्यावश्यक सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार आयोजनाका लागि आवश्यक बजेट विनियोजन गरी शीघ्र कार्यान्वयन गर्न माग गर्दै मन्त्रालयमै पुगेर ध्यानाकर्षण गराइएको हो।

सभापति महतले मन्त्रालयमा बुझाइएको ज्ञापनपत्रमार्फत स्थानीयवासीले लामो समयदेखि भोग्दै आएको सडक तथा पूर्वाधार समस्याको समाधानका लागि सरकारको तत्काल पहल आवश्यक रहेको उल्लेख गरिएको बताए।

उनका अनुसार मन्त्री लम्सालले मन्त्रालयका तर्फबाट आवश्यक योजनाका लागि बजेट विनियोजन गरी समस्या समाधानतर्फ चाँडै पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

हाल मेची राजमार्ग बन्द भएका कारण पूर्वी पहाडी जिल्लाका स्थानीयवासीले सास्ती भोगिरहेका छन्। मेची राजमार्गको वैकल्पिक सडकको अवस्था पनि नाजुक रहेकाले वर्षायाममा विभिन्न समयमा सडक अवरुद्ध हुने समस्या दोहोरिने गरेको छ।