पूर्वराजा ज्ञानेन्द्र शाहले नागढुंगा सुरुङमार्गसँग जोडिएको पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइएको भन्ने चर्चाप्रति टिप्पणी गर्दै इतिहास मेटाउने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
आफ्नो फेसबुक स्टाटसमा उनले विगतमा राजसंस्थासँग जोडिएका संरचना तथा राजमार्गहरूको नाम परिवर्तन गरिएको प्रसंग उल्लेख गर्दै अहिले अरूको इतिहास मेटिने क्रमलाई त्यसैको परिणामका रूपमा व्याख्या गरेका छन्।
उनले लेखेका छन्,'इतिहास मेटाउनेहरूले सधैँ सम्झनुपर्छ—आज अरूको इतिहास मेटाउने पालो तपाईंको होला, तर भोलि तपाईंको इतिहास मेटाउने अर्को कोही तयार भएर बसेको हुन सक्छ।'
आफ्नो धारणा स्पष्ट पार्न उनले एक पुरानो कथा पनि उल्लेख गरेका छन्, जसमा वृद्ध आमालाई डोकोमा बोकेर भीरबाट फाल्न जाने छोरालाई उसको सानो छोराले भविष्यमा त्यही डोको आफूलाई पनि आवश्यक पर्ने भन्दै सम्झाएको प्रसंग समेटिएको छ। उक्त कथामार्फत उनले आज अरूको इतिहास मेटाउने प्रवृत्तिले भविष्यमा आफ्नै इतिहास पनि मेटिन सक्ने सन्देश दिएका छन्।




















