पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुंगा सुरुङमार्गको शिलान्यासका क्रममा राखिएको शिलालेख पुनः स्थापना गर्ने बताएका छन्। 

आज नागढुंगा–सिस्ने खोला सुरुङमार्गको औपचारिक उद्घाटनपछि सञ्चारकर्मीसँग बोल्दै मन्त्री लम्सालले शिलान्यासको शिलालेख पनि राखिने बताएका हुन्। 

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित टुटीपाखामा ४ कात्तिक २०७६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको शिलान्यास गरेका थिए। उनको नाम अंकित शिलालेख हटाएको भन्दै एक समूहले विरोध गरिरहेको छ। तर, सुरुङमार्गको डिजाइनअनुसार काठमाडौंतर्फ सुरुमा शिलान्यास गरिएको ठाउँमा सीसी क्यामरा राख्ने भवन बनाउनुपर्ने भएकाले उक्त शिलालेख एक वर्षअघि नै हटाइएको सडक विभागले जनाएको छ। 

उक्त शिलालेख निकालेर त्यसबेला बबरमहलस्थित सडक विभागको कार्यालयमा राखिएको थियो। जेन–जी आन्दोलनका क्रममा आगलागीबाट विभागमा क्षति भएसँगै उक्त शिलालेख पनि जलेर नष्ट भएको विभागले स्पष्ट पारिसकेको छ।

पूर्वाधार विकासमन्त्री लम्सालले अब देश सुरुङ युगमा प्रवेश गरेको पनि बताएका छन्। देशैभरि यातायत सहज बनाउन सुरुङ बन्दै जाने उनको भनाइ थियो।