सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा आइतबार राति भएको झडपमा स्थानीय प्रशासनले बल प्रयोग गरेको विरोधमा सुनसरीका विभिन्न स्थानमा विरोध प्रदर्शन भएको छ।

दुई समूहबीचको झडप रोक्ने क्रममा प्रहरीले गोली चलाएको थियो। प्रहरीले चलाएको गोली १० जनालाई लागेको थियो। घाइते मध्ये २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। ९ जना विराटनगरको विभिन्न अस्पतालमा उपचाररत छन्।

घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि ५ स्थानमा कर्फ्यु जारी गरेको थियो। कर्फ्यु उल्लङ्घन गर्दै सोमबार बिहान प्रदर्शन भएको हो।

प्रदर्शनका क्रममा कप्तानगंज क्षेत्रको अवस्था तनावग्रस्त छ। सुनसरी सदरमुकाम इनरुवा बजार र लौकही क्षेत्रमा पनि प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीले इनरुवा बजार क्षेत्रमा बन्द गराएर राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेको प्रहरीले जनाएको छ।

sunsari-protest-1प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्गको सुनसरी खण्ड अवरुद्ध छ। सुनसरी प्रहरी प्रवक्ता डिएसपी चन्द्र खड्काका अनुसार प्रदर्शनकारीले राजमार्गमा टायर बालेर सडक अवरुद्ध गरेका छन्। जसका कारण सवारी आवागमन रोकिएको छ।

झडप र प्रहरी कारबाहीमा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन्। स्थिति नियन्त्रण बाहिर जान नदिन कप्तागन्ज क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या परिचालन गरिएको छ। त्यस्तै, बख्तरबन्द गाडी लिएर नेपाली सेनाको टोलीले कप्तानगञ्जका सडकमा गस्ती सुरु गरेको छ। स्थानीय प्रशासनले सर्वसाधारणलाई घर बाहिर ननिस्कन र सभा-जुलुस नगर्न आग्रह गरेको छ।