शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेस प्रदेशलाई साक्षर प्रदेश बनाउन सरकारले तीव्र गतिमा कार्य गरिरहेको जानकारी दिएका छन्।
सोमबार जनकपुरधामको सङ्कट मोचन विद्यालयमा विद्यार्थीहरूलाई खेलकुद सामग्री वितरण गर्न पुगेका मन्त्री पोखरेलले सञ्चारकर्मीहरुसँग कुरा गर्दै साक्षर प्रदेशको संरचना निर्माण गर्न प्रदेश सरकारलाई प्रतिवेदन बुझाइ सकेको बताए।
उनले मधेस प्रदेश सरकारलाई बुझाइएको प्रतिवेदन अनुसार कार्य पनि तीव्र गतिमा भइरहेको जानकारी दिए। मन्त्री पोखरेलले प्रदेश प्रमुख तथा इकाई कार्यालयहरुसँग तथ्य जानकारी लिएर मात्र आफू फकिर्ने बताए।
मन्त्री पोखरेलले खासगरी जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणमा देखिएको समस्याबारे बुझ्न तथा अन्य स्थानमा पनि जग्गा निरीक्षण गर्न लागेको जानकारी दिए।
उनले विश्वविद्यालयको डिनसँग छलफल भएको र जनकपुरधामको मुजेलियास्थित जग्गा र फुलगमामा हाल तोकिएको निर्माण स्थलको निरीक्षण आजै गर्ने बताए। मन्त्री पोखरेलले राजर्षि विश्वविद्यालयको स्तरोन्नति तथा शिक्षाको स्तर थप मजबुत बनाउन चासो देखाएका छन्।
मन्त्री पोखरेलले जनकपुरधामको सङ्कट मोचन विद्यालयका छात्र तथा छात्राहरुलाई क्रिकेट ब्याट, फुटबल, ब्याडमिन्टन र्याकेट हस्तान्तरण गरेका छन्। मन्त्री पोखरेलले सो विद्यालयमा छिट्टै खेल प्रशिक्षक पनि उपलब्ध गराउने विद्यार्थीहरुसँग प्रतिबद्धता जोहर गरे। उनले विद्यार्थीहरुसँग क्रिकेट पनि खेलेका छन्।




















