सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ को कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बिचमा झडप भएपछि गृहमन्त्री सुधन गुरुङले घटनाबारे सुरक्षा प्रमुखहरूसँग छलफल थालेका छन्।

सिंहदरबारमा गृहमन्त्री गुरुङले गृहसचिव राजकुमार श्रेष्ठ, आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका प्रमुख नारायदत्त पौडेलसँग छलफल गरेका हुन्। गृह मन्त्रालयका एक जना उच्च अधिकृतका अनुसार घटनाबारे गृहमन्त्रीले सुरक्षा प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्।

गएराति दुई समुदायको बिचमा झडप हुँदा एक जनाको मृत्यु भएको छ। सुरक्षाकर्मीको गोली लागेर कप्तानगञ्ज बस्दै आएका ओमप्रकाश मेहताको मृत्यु भएको हो। हिन्दु समुदायले मन्दिरमा ठुलो स्वरमा डिजे बजाएको र त्यसअघि सो क्षेत्रको बिजुलीको पोलमा राखिएको मुस्लिम समुदायको झन्डा हटाएर हिन्दुको झन्डा राखेको विषयमा विवाद थप चर्किएको सुरक्षा अधिकारीहरू बताउँछन्।

झडप सुरु भएपछि प्रहरीले ३ राउन्ड र सशस्त्रले ७ राउन्ड हवाई फायर गरेको सुरक्षाकर्मीहरूले दाबी गरेका छन्। झडपमा प्रहरीका इन्स्पेक्टर राकेश राईसहित १० जना प्रहरी र ५ जना सशस्त्रका सुरक्षाकर्मी र ९ जना स्थानीय घाइते भएका छन्। सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव अधिकारीले घटनास्थलमा सशस्त्रले २० राउन्ड फायर गरेको बताएका छन्।