नेपाली कम्युनिस्ट पार्टी र नेकपा (एमाले) बीच भएको सत्ता सहकार्यको सहमतिमा नेकपाका सह–संयोजक माधव कुमार नेपालले असन्तुष्टि प्रकट गरेका छन्।
शनिबार नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सहमति हुँदै गर्दा उनी सहभागी भएनन्।
नेकपाका सह–संयोजक नेपाल निकट नेकपा नेता रामकुमार भट्टराईका अनुसार प्रदेश सरकारमा सत्ता सहकार्यको विषयमा गृहकार्य गरेर जानुपर्ने नेपालको भनाइ थियो।
भट्टराईले भने, “अलि हतार भयो भन्ने उहाँको बुझाई छ। केही गृहकार्य गरेर जाउँ भन्दै हुनुहुन्थ्यो। यसअघि पनि सत्ता सहकार्य भएकै हो त्यसले राम्रो परिणाम दिएको छैन। सरकारका लागि मात्र नजाउँ भन्ने उहाँको भनाइ छ।”
नेकपा संयोजक प्रचण्डले सह–संयोजक नेपालको भनाइलाई बेवास्ता गरेर सत्ता सहकार्यको सहमति गरेको भन्दै नेकपाका नेता कार्यकर्ताले असन्तुष्टि व्यक्त गरेका छन्। भट्टराईले भने, “हामी यति छिटो निर्णय गरौँ र सहकार्य होस् भन्ने पक्षमा थिएनौँ।”




















