त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक भएको घटनाको जिम्मेवारी लिनुपर्ने भन्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले व्यवस्थापन संकायका डिन महानन्द चालिसे र परीक्षा हेर्ने सहायक डिन भरत राईको राजीनामा माग गरेको छ।
स्ववियु सभापति दीपकराज जोशीले आइतबार जारी गरेको विज्ञप्तिमा घटनाबारे दुई दिनभित्र निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, प्रश्नपत्र कसरी बाहिरियो र कसको संलग्नता थियो भन्ने स्पष्ट पार्दै दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न माग गरेका छन्।
विज्ञप्तिमा परीक्षा सञ्चालन भइरहेकै बेला प्रश्नपत्र बाहिरिएको भए यसले परीक्षा प्रणालीको गोपनीयता, निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउने उल्लेख गरिएको छ।
विद्यार्थीको मेहनत, विश्वास र विश्वविद्यालयको प्रतिष्ठामाथि आँच आउने कुनै पनि गतिविधि स्वीकार्य नहुने भन्दै स्ववियुले तोकिएको समयभित्र निष्पक्ष छानबिन र कारबाही नभए डिन चालिसे र सहायक डिन राईले नैतिक जिम्मेवारी लिएर पदबाट राजीनामा दिनुपर्ने चेतावनी दिएको छ।
आइतबार प्रहरीले यो घटनामा दुई जनालाई पक्राउ गरिसकेको छ।




















