विराटनगर विमानस्थलबाट स्रोत नखुलेको ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख तथा उपसचिव मिक्मार तामाङ पक्राउ परेका छन्।
प्रहरीका अनुसार दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका तामाङ साउन ३ गते बुद्ध एयरको उडानमार्फत विराटनगरबाट काठमाडौं जान लागेका बेला विमानस्थलको नियमित सुरक्षा जाँचका क्रममा नियन्त्रणमा परेका हुन्।
उनले बोकेको कालो झोलाबाट एक हजार दरका ५१५ थान र पाँच सय दरका ३०० थान नोट गरी कुल ६ लाख ६५ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। बरामद भएको रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि विमानस्थल सुरक्षामा खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले पक्राउ परेका व्यक्तिले सुरुमा आफ्नो वास्तविक परिचयसमेत लुकाएको र अनुसन्धानका क्रममा उनी राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख तथा उपसचिव रहेको खुलेको बताए।
तामाङले बरामद भएको रकमको स्रोत पुष्टि गर्न नसकेपछि स्रोत नखुलेको सम्पत्तिसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। घटना साउन ३ गतेकै भए पनि मोरङ प्रहरीले यसबारे शुक्रबार मात्रै सार्वजनिक जानकारी दिएको हो।




















