विराटनगरस्थित सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा मुसाले खाएको र गुणस्तरहीन चामल नयाँ बोरामा प्याकिङ गरेर बेच्न लागिएको फेला परेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको संयुक्त अनुगमन टोलीले मोरङको विराटनगरस्थित कम्पनीको गोदाममा निरीक्षण गर्दा यस्तो चरम लापरबाही फेला पारेको हो।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको अनुगमनका क्रममा सरकारी गोदामभित्रै उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुग्ने खालको चामल फेला परेपछि टोलीले त्यसको बिक्री वितरणमा तत्काल रोक लगाएको छ।

अनुगमनका क्रममा चामलका बोराहरूमा अनिवार्य रूपमा हुनुपर्ने ब्याच नम्बर र मूल्यसमेत उल्लेख नगरेको पाइएको अनुगमन प्रतिवेदनमा उल्लेख छ।

निरीक्षणका क्रममा गोदामको अवस्था अत्यन्तै दयनीय देखिएको छ। चामल भण्डारण गरिएको स्थानमा सरसफाइको अभाव हुनुका साथै मुसा र किरा नियन्त्रणको कुनै पनि प्रबन्ध नगरिएको भेटिएको छ।

भण्डारण कक्षको तापक्रम अत्यधिक धेरै रहेको र बिक्रीका लागि राखिएका चामलमा लेबल विवरणसमेत अपूर्ण रहेको अनुगमन टोलीले जनाएको छ। अनुगमनका क्रममा २५ केजी तौल भएका ३९ बोरा ‘स्टिम जीरा मसिनो’ चामल मुसाले खाएको, डल्ला परेको र अखाद्य अवस्थामा फेला परेको छ।

उक्त चामलभित्र डल्ला परेको भागमा जैविक पदार्थ ९चिलेसा० समेत देखिएको छ। टोली गोदाम पुग्दा मुसाले खाएको र बिग्रेको सोही चामललाई कामदारहरूले नयाँ बोरामा हालेर पुनः प्याकिङ गरिरहेको अवस्थामा भेटिएको थियो।

१५ चैत २०८१ मा उत्पादन भएको भनिएको उक्त चामलको उपभोग्य मिति २ वर्ष रहेको भए पनि भण्डारणमा लापरबाही गर्दा उपभोग अगावै बिग्रिएको पाइएको हो।

अनुगमन टोलीले प्रयोगशाला परीक्षणका लागि चामलको नमुना संकलन गरेको छ भने अर्को निर्देशन नभएसम्मका लागि उक्त ३९ बोरा चामल बिक्री वितरण गर्न नपाइने गरी रोक्का राख्न निर्देशन दिएको छ। सरकारी निकायबाटै गुणस्तरहीन खाद्यपदार्थलाई लुकाएर बेच्न खोज्नुले उपभोक्ताको स्वास्थ्यप्रति गैरजिम्मेवारपन देखिएको छ।