भारतको मुख्यमन्त्री विजय नेतृत्वको तामिलनाडु सरकारले सरकारी अस्पतालमा जन्मिने प्रत्येक नवजात शिशुलाई १ ग्राम सुनको औँठी उपहार दिने योजना कार्यान्वयनमा ल्याउने भएको छ। राज्य सरकारले सार्वजनिक गरेको ‘थाइमामन थङ्गा मोथिरा थिट्टम’ अन्तर्गत उक्त सुविधा उपलब्ध गराइने जनाएको हो।
सरकारका अनुसार यो योजना आगामी सेप्टेम्बर १५ देखि औपचारिक रूपमा शुभारम्भ गरिनेछ। यद्यपि, यसलाई जुन २२, २०२६ देखि पूर्वप्रभावी रूपमा लागू गरिएको छ। त्यस यता सरकारी अस्पतालमा जन्मिएका सबै योग्य नवजात शिशुले योजनाअनुसार सुनको औँठी प्राप्त गर्नेछन्।
तामिलनाडु सरकारले योजनाका लागि वार्षिक ७५५।८३ करोड भारतीय रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ। योजना अन्तर्गत सरकारी अस्पतालमा जन्मिने प्रत्येक नवजात शिशुलाई लिङ्ग वा परिवारमा जन्मिएको क्रमका आधारमा कुनै भेदभाव नगरी समान रूपमा १ ग्राम सुनको औँठी प्रदान गरिने व्यवस्था गरिएको छ।
सरकारका अनुसार यो सुविधा तामिलनाडुका स्थायी बासिन्दाका लागि मात्र लागू हुनेछ। लाभ लिन आमाबाबुले रासन कार्ड, आधार कार्ड, मतदाता परिचयपत्र वा अन्य स्थायी बसोबास खुल्ने प्रमाणपत्र पेश गर्नुपर्नेछ।
राज्य सरकारले यो योजना तामिल समाजमा प्रचलित ‘थाइमामन सिर’ परम्पराबाट प्रेरित भएको जनाएको छ। उक्त परम्पराअनुसार नवजात शिशुलाई मामाको तर्फबाट सुन उपहार दिएर स्वागत गर्ने चलन रहेको छ। सरकारले त्यसैलाई संस्थागत गर्दै प्रत्येक शिशुको ‘मामा’को भूमिका निर्वाह गर्ने अवधारणासहित योजना ल्याएको विज्ञप्तिमा उल्लेख छ।
सरकारका अनुसार योजनाको उद्देश्य सरकारी स्वास्थ्य संस्थाप्रतिको नागरिकको विश्वास अभिवृद्धि गर्नु, संस्थागत प्रसूति सेवामा थप प्रोत्साहन गर्नु तथा मातृ–शिशु स्वास्थ्यलाई सुदृढ बनाउनु हो। तामिलनाडुमा वार्षिक करिब ७ लाख ८० हजार प्रसूति हुने र तीमध्ये झन्डै ९९।९ प्रतिशत प्रसूति स्वास्थ्य संस्थामार्फत हुने सरकारी तथ्यांक छ।
सरकारी अस्पतालमार्फत मातृ तथा शिशु स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै सांस्कृतिक परम्परालाई सरकारी कार्यक्रममार्फत जोड्ने उद्देश्यले यो योजना ल्याइएको तामिलनाडु सरकारले जनाएको छ।




















