कतारको रस लाफ्फान औद्योगिक शहरमा रहेको एक कारखानामा प्राविधिक गडबडीका कारण विस्फोट र आगलागी भएको छ । घटनामा ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता रहेको कतारको गृह मन्त्रालयले जनाएको छ।
घटनापछि कतार इन्टरनेशनल सर्च एण्ड रेस्क्यु समूह (लख्विया) तथा सिभिल डिफेन्स टोलीहरू खोज तथा उद्धार कार्यमा निरन्तर खटिएका छन्। घटनापछि सूचनामा मन्त्रालयले औद्योगिक क्षेत्रमा रहेको कारखानामा प्राविधिक समस्या हुँदा आन्तरिक विस्फोट र आगलागी भएको जनाएको थियो।
पछि गरिएको अद्यावधिक विवरणमा घाइतेको संख्या बढेर ५४ पुगेको पुष्टि गरिएको छ भने बेपत्ताहरूको खोजी कार्य जारी रहेको उल्लेख छ।
कतार ऊर्जा कम्पनीका अनुसार, बार्जान स्थानीय ग्यास आपूर्ति सुविधामा सञ्चालन सुरु गर्ने क्रममा प्राविधिक समस्या आएपछि विस्फोट र आगलागी भएको हो। कम्पनीले आपतकालीन प्रतिक्रिया टोली तत्काल परिचालन गरी आगो नियन्त्रणमा लिइएको र अहिले स्थिति नियन्त्रणमा रहेको जनाएको छ। अधिकारीहरूले घटनाबाट कुनै पनि ग्यास चुहावट वा सार्वजनिक सुरक्षामा खतरा नरहेको स्पष्ट पारेका छन्। साथै घटनाको विस्तृत अनुसन्धान भइरहेको पनि जनाइएको छ।




















