कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको सरकारी निवासमा प्रहरीले छापा हानेको छ। बिहीबार राति ११ बजे विराटनगर महानगरपालिका–३ स्थित ल क्याम्पस नजिकैको निवासमा प्रहरीले छापा हानेको हो।

राति प्रहरी पुग्दा मन्त्री पराजुली भने निवासमा थिएनन्। आफू कार्यक्रममा सहभागी हुन संखुवासभामा रहेको र राति प्रहरी आफ्नो निवास पुगेको भन्ने जानकारी पाएको उनले बताए। मन्त्री निवासमा प्रहरीको टोलीले विभिन्न कोठामा खोजतलास गरेको थियो। 

शुक्रबार प्रतिनिधिसभा बैठकमा धनकुटाका सांसद राजेन्द्र राईले मन्त्री निवासमा प्रहरीले गरेको भनिएको खानतलासीबारे प्रश्न उठाउँदै सरकारसँग जवाफ मागे।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालले मन्त्री निवासमा एक व्यक्ति लुकेर बसेको भन्ने सूचनाका आधारमा प्रहरी पुगेको बताए। ती व्यक्तिबारे प्रहरीले थप खुलाएको छैन।