काठमाडौँको नयाँ बानेश्वरमा जेनजी आन्दोलनका क्रममा आगजनी गरी क्षतिग्रस्त बनाइएको बानेश्वर प्रहरी वृत्तको भवन पुनर्निर्माण सम्पन्न भएपछि आज प्रहरीलाई हस्तान्तरण गरिएको छ।
भवन मर्मत सम्भार तथा पुनर्स्थापना समितिले पुनर्निर्माणको काम पूरा गरी एक विशेष कार्यक्रमका बिच भवन बुझाएको हो।
झन्डै १ करोड ५० लाख रुपैयाँको लागतमा भवनको मर्मत सम्भार र पुनर्स्थापना गरिएको समितिले जनाएको छ। पुनर्स्थापित भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, प्रतिनिधि सभा सदस्य रन्जु दर्शना, सुनिल केसी लगायत उच्च पदस्थ अधिकारी र स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
आन्दोलनका क्रममा आक्रोशित भिडले वृत्तको भौतिक संरचनामा ठुलो क्षति पुर्याएपछि सेवा प्रवाह र सुरक्षा व्यवस्थापनमा समस्या हुँदै आएको थियो। त्यसलगत्तै स्थानीय स्तरमा क्याप्टेन रमेश श्रेष्ठको संयोजकत्वमा भवन मर्मत सम्भार तथा पुनर्स्थापना समिति गठन गरी तीव्र गतिमा पुनर्निर्माणको काम अगाडि बढाइएको थियो।
आधुनिक र सुविधासम्पन्न रूपमा पुनर्निर्माण गरिएको यो भवन हस्तान्तरण भएसँगै बानेश्वर क्षेत्रको सुरक्षा सेवा प्रवाह थप व्यवस्थित र प्रभावकारी हुने विश्वास प्रहरी प्रशासनले लिएको छ।




















