राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतको इतिहासमै सबैभन्दा लामो समय नेतृत्व सम्हाल्ने निर्वाचित प्रधानमन्त्री बनेकोमा नरेन्द्र मोदीलाई बधाई दिएका छन्।
सामाजिक सञ्जाल एक्समार्फत बुधबार लामिछानेले मोदीको उपलब्धिलाई ‘ऐतिहासिक कोशेढुंगा’को संज्ञा दिँदै शुभकामना व्यक्त गरेका हुन्।
प्रधानमन्त्री मोदीले जुन १० मा भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूको लगातार निर्वाचित प्रधानमन्त्रीको कीर्तिमान उछिन्दै नयाँ रेकर्ड कायम गरेका छन्।
लामिछानेले हालै नयाँदिल्लीमा प्रधानमन्त्री मोदीसँग भएको भेटवार्ता स्मरण गर्दै त्यस क्रममा भएका छलफललाई अर्थपूर्ण र दूरदर्शी भएको बताएका छन्। उनले रास्वपाले परिकल्पना गरेको समृद्ध नेपालको लक्ष्यअनुसार नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउन आफूहरू प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
उनले दुवै देशको साझा हितका विषयमा आर्थिक सहकार्य, विकास र पारस्परिक समृद्धिलाई केन्द्रमा राखेर अगाडि बढ्न चाहेको पनि बताएका छन्। साथै, नेपाल–भारत सम्बन्धलाई अझ मजबुत बनाउने दिशामा सहकार्यको अपेक्षा व्यक्त गरेका छन्।
केही दिनअघि नयाँदिल्लीमा भएको भेटमा प्रधानमन्त्री मोदीले नेपाललाई भारतको ‘प्राथमिक साझेदार’ भन्दै दुई देशबीचको विशेष सम्बन्धलाई अझ उचाइमा पुर्याउन मिलेर काम गर्न चाहेको बताएका थिए।


















