काठमाडौँ महानगरपालिका–०५ बसुन्धारास्थित सिद्धबाबा युनिफर्म इन्टरप्राइजेज (गार्मेन्ट) मा विद्युत सर्ट भएर आगलागी हुँदा करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

बुधबार बिहान करिब २ः५२ बजे सुरु भएको आगो ११ वटा दमकल, एक पानी ट्याङ्कर, नेपाल प्रहरी, नगर प्रहरी, स्थानीय बासिन्दा तथा अन्य निकायको सहयोगमा करिब ५ः४५ बजे पूर्णरूपमा नियन्त्रणमा लिइएको हो।

आगलागीबाट गार्मेन्ट पूर्णरूपमा जलेर नष्ट भएको छ। साथै अन्नपूर्ण किराना स्टोर र प्रतिक्षा इलेक्ट्रोनिक्समा पनि क्षति पुगेको छ। त्यसैगरी, लुम्बिनी खाजा घर, क्यापिटल इन्टरनेशनल मेनपावर तथा आसपासका दुई घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ।

घटनामा कुनै मानवीय क्षति नभएको र आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।