अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट पालित-पोषित शक्तिले प्रधानमन्त्री र आफूमाथि नियोजित आक्रमण गरिरहेको आरोप लगाएका छन्। बुधबार प्रतिनिधिसभाको अर्थ समितिमा बजेटसम्बन्धी छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले सरकारले गरिरहेको ठूला वित्तीय अपराधको अनुसन्धानबाट त्रसित समूहले आफूहरूविरुद्ध घेराबन्दी गरेको दाबी गरेका हुन्।
“नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नमाथि सरकारले छानबिन गरिरहेको छ, केही दिनमा यो विषय अदालत पुग्दैछ,” मन्त्री वाग्लेले भने, “हामीसँग रुष्ट तिनै समूहबाट पालित-पोषित तत्वले प्रधानमन्त्री र ममाथि आक्रमण गरिरहेका छन्।” उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बहुमत र सरकारको सुशासनको अभियान धेरैलाई नपचेकाले यस्तो खेल भइरहेको टिप्पणी गरे।
सार्वभौम संसद्का सदस्यलाई समेत त्यस्ता समूहको कुराबाट प्रभावित नहुन र लहलहैमा लागेर संसद्को गरिमा कमजोर नबनाउन उनले आग्रह गरेका छन्। “चियाको कपमा तुफान ल्याउन खोजिएको छ, यसलाई म डटेर सामना गर्न तयार छु,” उनले भनेका छन्।
बजेट वक्तव्यका १६ पाना गायब पारिएको भन्ने मिडिया रिपोर्ट र विपक्षीको आरोपको खण्डन गर्दै अर्थमन्त्री वाग्लेले ४६० पानाको डकुमेन्टमा एउटा पूर्णविराम वा थोप्लो पनि यताउता नपारिएको स्पष्ट पारेका छन्। आम जनतालाई केही समय भ्रममा पार्न यस्तो अफवाह फैलाइएको उनको भनाइ छ।




















