विराटनगर विमानस्थलभित्र सञ्चालित पसलहरूले यात्रुसँग अंकित मूल्यभन्दा अत्यधिक बढी मूल्य असुल गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय मोरङले १२ लाख रुपैयाँ जरिवाना गरेको छ।
कार्यालय मोरङको नेतृत्वमा मंगलबार बेलुकी गरिएको आकस्मिक बजार अनुगमनका क्रममा ती व्यवसायहरूले उपभोक्ता ठगेको फेला परेपछि कारबाही गरिएको हो।
विमानस्थलभित्रका होटेल तथा क्याफेहरूले सामानमा तोकिएको मूल्यभन्दा दोब्बर–तेब्बर बढी लिने गरेको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले आकस्मिक अनुगमन गरेका थिए।
अनुगमनका क्रममा विमानस्थलको बोर्डिङ कक्षमा सञ्चालित ममता होटेलले १०० रुपैयाँ पर्ने डेरी मिल्क चकलेटलाई २०० रुपैयाँमा बिक्री गरेको पाइएको हो।
त्यसैगरी, क्यान्टिन कक्षमा सञ्चालित ग्यालेक्सी क्याफे एन्ड होटेल प्रालिले ५० रुपैयाँ पर्ने कोककोलालाई १६० रुपैयाँमा बिल काटेर बेचेको भेटिएको छ।
विमानस्थल परिसरकै गरिमा क्याफेले ५० रुपैयाँको कोककोलालाई ८० रुपैयाँ र अनुकूल होटेल एण्ड भान्छा घरले ८ रुपैयाँ पर्ने चकलेटलाई १७ रुपैयाँ ६९ पैसामा बिक्री गरेको पाइएको छ।
अंकित मूल्यभन्दा अत्यधिक बढी मूल्यमा सामग्री बिक्री गर्ने चारवटै पसललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) को कसुरमा सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम जनही ३ लाखका दरले जरिवाना गरिएको हो। कारबाही स्वरूप चार पसलबाट कूल १२ लाख रुपैयाँ जरिवाना संकलन गरिएको प्रहरीले जनाएको छ।




















