फिफा विश्वकप २०२६ अघि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइल्यान्डलाई ३-० ले पराजित गरेको छ।

अमेरिकाको अलाबामास्थित जोर्डन हारे स्टेडियममा बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाका कप्तान लिओनल मेसीले पनि गोल गरे। उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दै गोल गरेका थिए।

त्यसअघि भ्यालेन्टिन बार्कोले आठौं मिनेटमै गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।

दोस्रो हाफमा अर्जेन्टिनाले दुई गोल थप्यो। मेसीले ७२औं मिनेटमा पेनाल्टीमा गोल गरे। त्यसपछि थियागो अल्माडाले ८७औं मिनेटमा गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे।

विश्वकपको साविक विजेता अर्जेन्टिनाले मैत्रीपूर्ण खेलहरु जित्दै जुन ११ देखि सुरु हुने फिफा विश्वकप २०२६ मा उपाधि रक्षा गर्न तयार रहेको सन्देश दिएको छ।

फिफा विश्वकप २०२६ मा समूह जे मा रहेको अर्जेन्टिनाले पहिलो खेल १६ जुनमा अल्जेरियासँग खेल्नेछ।