नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरिब नागरिकलाई सबैभन्दा बढी पीडा दिएको आरोप लगाएका छन्।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले श्रमजीवि वर्गमाथि सबैभन्दा ठूलो आहात दिने काम सरकारबाट भएकाले पनि नेपालका कम्युनिष्ट पार्टीहरूले वर्गीय पक्षधरताको पक्षमा दृढतापूर्वक उभिएर काम गर्नुपर्ने बेला आएको बताए।
‘अहिले सरकारको तर्फबाट सबभन्दा गरिबहरूमाथि, निमुखाहरूमाथि नै सबभन्दा बढी आहात, पीडा दिने कोशिस भएको छ। सबभन्दा गरिब, जसको हामी वर्गआधार भन्ने गर्दछौं। त्यही वर्गमाथि प्रहार भएको छ। हामीले यो बीचमा वैचारिक ढंगले र आफनो वर्ग आधारलाई दह्रोसँग समात्नुपर्नेमा कमजोरी भएको छ,’ प्रचण्डले भने।
कम्युनिष्टहरूबीचको एकताले मात्रै वर्ग संघर्षलाई माथि उठाउन सकिने भएकाले सो काममा नेपालका कम्युनिष्ट पार्टीहरू एकतावद्ध भएर लाग्नुपर्ने आवश्यकता भएको पनि बताए।




















